प्रचण्ड–नेपाल समूहका सांसददेखि केन्द्रीय सदस्यसम्मलाई हटाइदिने ओलीको चेतावनी

maitrinews

 

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिनुभएको छ । अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने ओलीको चेतावनी छ । उहाँले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताउनुभयो ।

उहाँले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी गर्नुभयो । तर एकीकरण गरिसक्ने बित्तिकै उनीहरुले आफ्नो धन्दा सुरु गरेका ओलीको आरोप छ । पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सोमबार पोखरामा नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गर्नुभयो । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो ?,’ ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको । तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’

प्रचण्ड–नेपाल समूहले कारबाहीको जेजति ‘तमासा’ गरेपनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रुपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौती दिनुभयो ।