प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवव्दारा सहमतिपत्रमा हस्ताक्षर, एउटै मञ्चबाट सम्बोधन

maitrinews

 

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको तीनबुँदे सअमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । राष्टिय सभा गृहमा आयोजित विशेष समारोहमा सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै नेताले सम्बोधन गर्दै मुलुकलाई शान्त र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको एउटा नयाँ दिन भन्नुभयो ।

सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताउनुभया ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको सङ्ज्ञा दिनुभयो ।

साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव चन्दलाई धन्यवाद दिनुभयो।

यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन। यो सहमतिपछाडि एउटा महान् आकाङ्क्षा छ, चन्दले भन्नुभयो ।

नेपाली जनताका चाहना अझै पूरा नभएको र शहीदको सपना मर्न नदिनेू उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सरकार र आफ्नो पार्टीबीच सहमतिमा सघाउने सबैलाई धन्यवाद दिनुभयो।

यसअघि प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको उहाँले खुलासा गर्नुभयो ।
नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको थियो । सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच भएको सहमति बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द समूहबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सम्मिलित वार्ता टोली मंगलबार गठन गरिएको थियो । दुवै टोलीले बुधबार बिहान र बेलुका तथा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरेर निष्कर्ष निकालेका थिए ।