महाशिवरात्रि मनाइँदै, पशुपतिनाथमा दर्शनार्थीको घुँइचो

 

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।
हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।

मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरे पनि मुक्ति मिल्ने पुराणमा उल्लेख छ । हिन्दू धर्मशास्त्रमा भगवान् शिको उत्पत्ति फाल्गुण कृष्णचतुर्दशीकै दिन भएको मानिन्छ । पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले आवश्यक व्यवस्थापन गरिएको जनाएको छ ।

कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्क अनिवार्य गरिएको छ । यस दिन पशुपति क्षेत्रमा विशेष घुइँचो हुने भएकाले वरपरका क्षेत्रसम्म सवारी साधन प्रवेशमा कडाइ गरिएको छ ।