प्रतिनिधि सभाको बैठक बस्दै,प्रम ओलीले प्रतिवेदन प्रस्तुत गर्नुहुने

maitrinews

 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कोइरालाको विहीबार निधन भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना   पछि आज चौथो बैठक बस्न लागेको हो।

विवादका कारण अगाडि नबढेको बैठक सुरु भएको दुई सातापछि संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले आज मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो ।

चालु अधिवेशनमा भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको, प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेको र एमालेभित्रै द्वन्द्व सिर्जना भएकाले परम्परा तोडिएको हो ।

नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा आफ्नो पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्य राख्ने जानकारी दिनुभयो। सभामुखको सचिवालयले दलले सिफारिस गरेका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जनाएको छ । प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चले ब्युँत्याएपछि फागुन २३ मा बसेको पहिलो बैठकमा सत्तापक्षको असन्तुष्ट पक्ष र प्रतिपक्षको विरोधका कारण असहज अवस्था सिर्जना भएको थियो । त्यसपछिका बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वका, संकल्प र ध्यानाकर्षणका तीनवटा प्रस्ताव दर्ता गराएका छन् । ३८ थान विधेयक प्रतिनिधिसभा र विषयगत समितिमा विचाराधीन छ । पछिल्लो समय जारी गरिएको ८ मध्ये ७ अध्यादेश प्रतिनिधिसभामा पेस गरिएको छैन