वीर अस्पतालमा ४७ करोडको क्यान्सर मेसिन बिग्रियो

maitrinews

काठमाडौँ । मुलुकको पुरानो वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी पाँच वर्षदेखि ठप्प छ , ४७ करोड खर्च गरेर ल्याइएको टोमोथेरापी मेसिन तीन वर्षसम्म जडान नगरी बिग्रिएको छ ।
वीरमा २३ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ देखि रेडियोथेरापी पूर्ण रूपमा अवरुद्ध भएको हो । विपन्न बिरामीलाई अत्याधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भनेर ०७४ मा ४७ करोड खर्च गरेर टोमोथेरापी मेसिन खरिद गरिएको थियो ।
तर, मेसिन वीर अस्पतालमा ल्याएर जडान गर्नुको सट्टा सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको थियो । तीन वर्षसम्म चौरमै रहेको मेसिन घामपानीबीच खिया लागेको बिग्रिएको छ ।
केही दिनअघि मात्र वीरले मेसिनको अवस्था बुझ्न प्राविधिक टोली पठाएको थियो । टोलीले कन्टेनरभित्र पानी छिरेकाले मेसिनमा खराबी आएकोे प्रतिवेदन दिएको छ ।