सरकारले थुप्रै अग्रगामी काम गरेको छ : ज्ञवाली

maitrinews

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधान उल्लंघन गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पुरा नहुँदा प्रतिगमनको परिभाषा हुने गरेको बताउनुभयो । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले भन्नुभयो, कोही व्यक्तिलाई प्रधानमन्त्री बन्ने रहर लाग्यो त्यो पूरा भएन भन्दैमा पश्चगमन हुन्छ ? सरकारले अग्रगामी काम गरेको बताउनुहुँदै उहाँले भन्नुभयो उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउनु प्रतिगमन होइन, कोभिड १९ विरुद्ध खोप लगाउनु प्रतिगमन होइन । तराईका जिल्लामा पानीको व्यवस्था हुनु प्रतिगमन होइन । नागढुंगामा सुरुङ्गमार्ग खोलिनु प्रतिगमन होइन । सडक कालोपत्रे बनाउनु प्रतिगमन होइन ।

सर्वोच्चको फैसलाअनुसार अब संसद बैठकबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक अवस्था आएको उहाँले बताउनुभयो । “संविधानले सदन सञ्चालनसँग सम्बन्धित, अध्यादेशसँग सम्बन्धित प्रष्ट व्यवस्था गरेको छ उहाँले भन्नुभयो, “संसदको पहिलो बैठकमा अध्यादेश प्रस्ताव ल्याउन पाइने व्यवस्था छ, तर त्यो प्रस्तावमा हामीले सहमति जुटाउन सकेनौं, चिन्ताको विषय हो ।”

संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुरयाउन आयोगको समयावधि बढाउने, एसिड आक्रमणका घटनाको सजाय सम्बन्धी व्यवस्थाको प्रस्ताव समेत संसद बैठकमा रोक्ने काम हुनु उचित नभएको उहाँले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले सरकार दुईवटै मुद्दा हारेको छ, तर हामीले कुनै आक्षेप लगाएका छैनौं” मन्त्री ज्ञवालीले भन्नुभयो, “सर्वोच्च अदालत र निर्वाचन आयोगले सहमतिको ढोका बन्द गरेको छैन, हामी अझ मिलेर अघि बढ्नसक्ने ठाउँ छ ।”

संविधानप्रति सबै दलको साझा धारणा छ तर पनि कार्यान्वयनमा फरक बुझाई भइरहेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले विधिको शासनप्रति सबै प्रतिवद्ध हुनुपर्छ भन्नुभयो । संविधान जारी भइसकेपछि सिके राउत समूहलाई र पछिल्लो समय विप्लब चन्द नेतृत्वको नेकपा माओवादीलाई शान्तिपूर्ण मूलप्रवाहमा ल्याउने काम भएको उहाँले बताउनुभयो । कानुनको दायराभित्र आपसमा मतभेद हुनु लोकतन्त्रमा छुट छ तर संविधानको उल्लंघन गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो ।

मुलुक कोरोनाले ग्रस्त भएपनि सरकारले कुशलतापूर्वक सामना गरेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले कोभिड १९ को मामिलामा नेपालले नयाँ दृष्टान्त उपलब्ध गरेको बताउनुभयो । ६० देशमध्ये नेपाल पनि एउटा हो कोभिड १९ खोप समयमै शुरुगरेको उहाँले चर्चा गर्नुभयो । अर्को चरणको खोप चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत र चीनले खोप उपलब्ध गराएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

खोप शुरु भएपनि अझै संकट पूर्णतः अन्त्य भइनसकेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसँगको सम्बन्ध विस्तारमा पनि सफलता प्राप्त गरेको जानकारी दिनुभयो । मुलुकले यसबीचमा महत्वपूर्ण सफलता प्राप्त गरेको उहाँले प्रष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षाका लागि आफ्नो दल महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
संविधानले स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेकाले सर्वोच्चको फैसला र आदेशको सबैले पालना गर्नुपर्ने उहाँले बताउनुभयो । विघटित प्रतिनिधिसभा पुनस्र्थापनार्थ सर्वोच्चले गरेको फैसलाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सर्वोच्चले सरकारको कदमलाई असंवैधानिक ठहर गरेपछि सरकारले त्यसको दायित्वबोध गर्नुपर्ने बताउनुभयो ।
सरकारले कोभिड १९ खोपको विषयमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुहुँदै नेता खाँणले सरकारले गरेको प्रतिवद्धता गरेअनुसार समयमै खोप ल्याउन नसकेको टिप्पणी गर्नुभयो । कोभिड १९ अझै पूर्णतः नियन्त्रण नभएकाले खोपको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
मेलम्चीको पानी उपत्यकाबासीले खाउन पाउनेगरी सरकारले व्यवस्था गरेकोप्रति धन्यवाद व्यक्त गर्नुहुँदै सांसद खाँणले सो काम तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शुरुभएकाले नाम लिन कन्जुस्याई गर्न नहुने बताउनुभयो । सरकारले कागजमा धेरै विकास गरेपनि भौतिकरुपमा आशा गरेजस्तो नभएको बताउनुभयो ।
पर्यटन व्यवसाय अहिले ठप्प रहेको चर्चा गर्नुहुँदै नेता खाँणले पर्यटन, यातायात विकासको क्षेत्रमा आवश्यक काम गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । किसानलाई आवश्यक राहतको व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले आफ्नै पार्टी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी गलत काम गरेपनि सर्बोच्चले पुनस्र्थापना गरेकोभन्दै धन्यवाद व्यक्त गर्नुभयो । सांसद भुषाले संवैधानिक नियुक्तमा पनि पुनरविचार गर्नुपर्ने चर्चा गर्नुभयो ।
अहिले देश अग्रगमनको दिशामा रहेको चर्चा गर्नुहुँदै सांसद भुषालले लोकतान्त्रिक गणतन्त्र रक्षाको निम्ति सबै लाग्नुपर्ने बताउनुभयो । तीन करोड जनसंख्या भएको देशमा कोभिड १९ खोप अझै पर्याप्त नभएको उहाँले चर्चा गर्नुभयो । खोपको तत्काल व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लोकतन्त्र, संघीयतालाई बलियो बनाउन आवश्यक विधेयक संसदमा ल्याएर अगाडि बढ्न आवश्यक रहेको बताउनुहुँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी जसपाका नेता राजकिशोर यादवले मुलुकले लोकतान्त्रिक गणतन्त्रमा उपलब्धी भएपनि विधिको शासन अझै चल्न नसकेको बताउनुभयो । सांसद यादवले देश र जनताको हितलाई केन्द्रमा राखेर सबैले काम गर्नुपर्ने चर्चा गर्नुभयो । हामीले भावी पुस्तालाई के दिइरहेका छौं आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । मूल्य मान्यता र राजनीतिक नैतिकता ह्रास भइरहेको उहाँले टिप्पणी गर्नुभयो ।
दलीय आरोप प्रत्यारोपभन्दा नेपालको स्वाधिनता, राष्ट्रियताप्रति सबै जिम्मेवार हुनुपर्ने भन्दै सांसद यादवले संविधानलाई अझ पूर्ण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । एक अर्कालाई सम्मान गर्ने र हातेमालो गर्ने परिपाटीको विकास गरी समस्या समाधान गर्न उहाँले दलका नेताहरुलाई आव्हान गर्नुभयो । सदनलाई पक्ष विपक्ष भन्दा पनि सहमतिको थलो बनाउनुपर्ने उहाँले चर्चा गर्नुभयो । सांसद रेशमलाल चौधरीलाई मुक्त गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवालले देश र दलीय सहमति गरी जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो । ठूला दलले साना दललाई निषेधको काम गर्न नहुने उहाँहरुले बताउनुभयो ।