मनाङ ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

maitrinews

 

मनाङ । मनाङको नासों गाउँपालिका ३ खोत्रोमा भएको ट्रक दुर्घटना मृतक संख्या पाँच पुगेको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, उनको बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाको छोरा अन्दाजी ६÷७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
सहचालक मस्र्याङदी गाउँपालिका ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ ओडारका २८ बर्षीय धनमान विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो । नेपाली र विश्वकर्मालाई उपचारका लागि बेंसीसहरको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो ।