राजधानीमा एकसातादेखिको फोहोर उठाउन सुरु

maitrinews

 

काठमाडौँ । एक सातादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिएको छ ।  काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच भएको वार्तापछि फोहोर उठाउने सहमति भएको हो ।

सिसडोलका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

सहमतिअनुसार महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकालाई पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन–तीन करोड रुपैयाँ दिने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने भएको छ ।

प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौंका अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा स्पष्ट धारणा लिएर आउन महानगर प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गर्नुभयो । बन्चरे डाँडालाई आधार मानेर स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने र सिसडोलको पोस्ट क्लोजर गर्नेबारे पनि सहमति भएको छ ।