जसपा सरकारमा जाने सम्भावना बढ्यो

maitrinews

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी काँग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी जसपा भने सरकारमा जाने तयारी गरेकाले अर्को सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।
अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अहिले सरकारसँग गहन वार्तामा छ ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने ओली सरकारमा जान तयार भएको छ । सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ । यो विषयमा सरकार सकारात्मक बनेको छ ।

सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकारले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ ।