डढेलो नियन्त्रण गर्न हेलिकप्टर र जहाज प्रयोग गरिने

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको जंगलको आगलागी नियन्त्रणमा दमकल मात्र पर्याप्त नहुने भएको हेलिकप्टरको प्रयोग आवश्यक हुने चर्चा गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले विकट जंगलमा हुने आगलागी नियन्त्रण र अन्य प्रयोगमा पनि ल्याउन सकिने खालका बहुउपयोगी हेलिकप्टर वा हवाईजहाज ल्याउनुपर्ने बताउनुभयो । देशभरका जंगलमा लागेको आगलागी नियन्त्रणका लागि अग्नी नियन्त्रक यन्त्र जडान गरी तत्काल प्रयोगमा ल्याउन सकिने भए सो कार्य प्रारम्भ गर्न समेत उहाँले निर्देशन दिनुभयो । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि उहाँको थियो । उहाँले देशभरका सात सय स्थानमा आगलागी भएको र त्यसबाट हुने वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउनुभयो । उहाँले नेपाली सेनाले आफ्ना लागि चाहिने पोशाक, विस्कुट, खाद्य पदार्थ आँफै उत्पादन गर्ने कार्यको अग्रसरता लिनु सह्रानीय भएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली सेना आँफैले उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा समेत प्रयोगमा ल्याउन सकिने चर्चा गर्नुहुँदै भन्नुभयो, “त्यसरी तयार हुने पोशाक सितै होइन, परल मूल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइनुपर्छ ।”
कार्यक्रममा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै काम भइरहेको बताउनुभयो ।
उहाँले नेपाली सेनाले गरिरहेका प्रमुख कार्यहरूको चर्चा गर्नुहुँदै भन्नुभयो, “वीरन्द्र सैनिक अस्पताललाई ठूला जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पु¥याउने, बंकरहरुलाई व्यारेकमा स्थानान्तरण गर्र्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्यहरु अघि बढिरहेका छन् ।”
कार्यक्रममा चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतिका बाबजुद लक्ष्य अनुरुप नै प्रगति भएको उल्लेख गर्नुभयो ।