जसपका धेरै नेता ओली सरकारकै पक्षमा

maitrinews

 

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका धेरै नेताहरू आफ्ना माग पूरा भए ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा देखिनुभएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आज डाकेको बैठकमा गए पनि देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने पक्षमा भने समर्थन नगर्ने उहाँहरुको अडान छ । जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादवमात्र सरकार परिवर्तनको पक्षमा हुनुहुन्छ । तर उहाँहरुले चाहेरमात्र केही हुने अवस्था छैन ।

संसदमा चौथो ठूलो दल भए पनि गणितको हिसाबले जसपाले दिने समर्थनले सरकार ढल्ने वा नढल्ने विषय निर्धारण गर्छ ।

हामी कांग्रेसले डाकेको बैठकको स्वागत गर्छौँ। हामी सबैसँग सम्वाद गर्छौँ। कांग्रेसले कस्तो भूमिका खेल्न खोज्दैछ अनि जसपासँग कस्तो सहयोग खोजेको हो भन्ने कुरा पहिले बुझ्नुपर्‍यो। त्यसपछि हाम्रो निर्णय सुनाउँला, जसपाका नेता राजकिशोर यादवले भन्नुभयो ।
वहाँहरूले समर्थन माग्दैमा दिइहाल्ने भन्ने छैन। हामी खुला छौँ, उहाँले भन्नुभयो ।
जसपाका तर्फबाट सरकारसँग सम्वादमा रहेका अर्का नेता लक्ष्मणलाल कर्णले पनि संवाद गर्न इन्कार नगर्ने तर जसले आफ्नो दलको माग पूरा गर्छ उसैलाई समर्थन गर्ने नीति रहेको बताउनुभयो । परिणाम आयो भने यही सरकारलाई नै समर्थन गर्छौँ,कर्णले भन्नुभयो ।

जसपाले आन्दोलनका समयमा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता सम्बन्धी सूची सरकारलाई बुझाएको छ। मुद्दा फिर्ता लिनेसम्बन्धमा सरकारले गृहकार्य अगाडि बढाएको छ ।
जसपाका धेरै नेताहरुको बुझाई ओली सरकारमा जाँदा मधेसका धेरै मुद्दा सम्बोधन हुने र पार्टीलाई पनि फाइदा हुने रहेको छ ।