सरकारको निर्णय पर्खदै जसपा

maitrinews

 

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठक सरकारको निर्णय पर्खन केही दिन स्थगित भएको छ । बैठकले कुनै निर्णय गर्न सकेन ।

सरकारको निर्णय पर्खन र नयाँ वर्षको पर्वका कारण केही दिनका लागि बैठक स्थगित भएको हो । बैठक रोकेर केही शीर्षनेता नयाँ वर्ष मनाउन उपत्यका बाहिर गएका छन् ।
दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको जोड रहेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको भने फरक मत छ । तर अहिले जसपाका ३२ मध्ये २४ सांसद अध्यक्ष ठाकुरका पक्षमा रहेकाले यादव र भट्टराईको अडानको अर्थ नरहने सो पार्टीका नेताहरुले बताएका छन् ।

माग पूरा भए ओली सरकारमै जानुपर्ने पक्षमा बहुमत अधिकांश सदस्यहरु रहेकाले जसपाका माग पूरा गर्न छिटो निर्णयमा पुग्नुपर्ने अवस्था देखिएको छ ।