निषेधाज्ञामा थप कडाइ

maitrinews

 

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।

शुक्रबारदेखि भने सहरभित्रको निषेधाज्ञामा कडाइ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार पहिलो दिन भएर सवारीसाधनलाई केही खुकुलो गरिएको भए पनि आजबाट कडा गरिएको हो ।

सरकारको निर्देशन कडाइका साथ पालना गराइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ ।

सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा रोक प्रायः लगाइएको छ ।