नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

maitrinews

 

दोलखा । नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।

नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ ।

सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।