पृथ्वी राजमार्गमा पहिरो, दुई जनाको मृत्यु

maitrinews

 

बेनीघाट । लगातारको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् ।

यस्तै पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । खड्का अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो ।

जिप्रका धादिङका प्रहरी निरीक्षक रन्जन अवाका अनुसार पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ । उनका अनुसार बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्‍याएको छ ।

त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजाकुमार घाइते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।