धेरै शान्ति सेना पठाउनेमा नेपाल दोस्रो

maitrinews

 

काठमाडौँ । विश्व शान्ति स्थापनाका लागि सैनिक खटाउन थालेको झन्डै ६२ वर्षपछि नेपाल धेरै सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा दोस्रो नम्बरमा आइपुगेको छ । संयुक्त राष्ट्रसंघले सन् २००१ बाट निकाल्न थालेको वरीयतामा नेपाल दक्षिण एसियाकै बंगलादेशभन्दा पछाडि छ ।
नेपाल ५ हजार ५७१ सुरक्षा फौज खटाएर दोस्रोे वरीयतामा परेको हो । फिल्डमा खटिएका सैनिकको संख्याका आधारमा यूएनले वरीयता निकाल्ने गर्छ । एक सयभन्दा बढी संयुक्त राष्ट्रसंघका सदस्य मुलुकले विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा फौज पठाउँदै आएका छन् ।

शान्ति सेनामा सहभागी सैनिकले प्राप्त गरेको भत्ताको केही प्रतिशत कटाएर सेनाले १ करोड २४ लाख १ हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघ को सदस्य बनेपछि नेपाली सुरक्षाकर्मी विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना–कुना पुगेर शान्ति स्थापनार्थ खटिन थालेका हुन् । नेपालले सन् १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो । त्यसपछि इजिप्टमा पहिलोपटक पुरानो गोर्खा बटालियनको टोलीलाई ‘नीलो हेलमेट’ लगाएर शान्ति सैनिकका रूपमा खटाइएको थियो ।

नेपाली सेनाका अनुसार आधा शताब्दीभन्दा बढी अवधिमा ४३ वटा मिसनमा १ लाख ३५ हजार ३९९ जना सैनिक खटिइसकेका छन् । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोली पनि पठाएको छ । सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले काम गरेको छ ।
अहिले सेनाले विश्वका विभिन्न १२ मिसनमा काम गरिरहेको छ । सेनाका अनुसार २०२१ जुलाई १९ सम्म सेनाबाट ५ हजार १ सय ७५, सशस्त्र प्रहरी बल ९एपीएफ० बाट ३ सय ३० र नेपाल प्रहरीबाट १ सय १४ जनाले जिम्मेवारी सम्हालिरहेका छन् । तीमध्ये १ सय ८१ जना महिला छन् । यूएन मिसनमा जानका लागि पूर्वतयारी गर्न ‘नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र’ सन् १९८६ मा काभ्रेको पाँचखालमा स्थापना भएको थियो । आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा सेनाका ६८ जनाको ज्यान गरेको छ भने ६६ जना घाइते भएर अपांग भएका छन् । नेपालले अब कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा पठाउन पाउने भएको छ । करिब ९६ हजार सेनाको १० प्रतिशत अर्थात् ९ हजार ६ सय जना सैनिक एक वर्षमा शान्ति स्थापना मिसनमा जाने छन् ।