गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा

maitrinews

 

इटहरी । गृहमन्त्री बालकृष्ण खाँणसहितको टोली सप्तकोशी नदीमा आएको बाढीका कारण भइरहेको कटान तथा बस्ती डुवान भएको क्षेत्रको स्थलगत अवलोकनका लागि उदयपुरको बेलका नगरपालिकाको प्रभावित क्षेत्र आइपुगेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशीमा बाढीले निरन्तर कटान गरेर बस्तीलाइ पारेको प्रभाव निरीक्षण गर्न गृहमन्त्री खाँणसहितको टोली कटान प्रभावित क्षेत्र आउनुभएको हो ।
गृहमन्त्री खाँणका साथै टोलीमा पूर्वमन्त्रीद्वय मोहन बस्नेत र शेरबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे लगायतका पदाघिकारीहरु हुनुहुन्छ ।
उहाँसहितको टोली कटान प्रभावित क्षेत्रमा उपस्थित उदयपुर, सुनसरी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकृतहरुसंग सप्तकोशी नदीमा आएको बाढी र कटानले बेलका नगरपालिकाका साथै अन्य जिल्लामा पारेको प्रभावका बारेमा जानकारी लिने सुनसरीका प्रजिअ उमेश ढकालले जानकारी दिनुभयो ।