एमालेको विधान महाधिवेशनमा पाँच हजार सहभागी हुने

maitrinews

 

काठमाडौं । नेकपा एमालेले असोज १५ गतेदेखि ललितपुरमा विधान महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा पाँच हजार जना प्रतिनिधिको सहभागिता रहनेछ । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तीनवटा प्रतिवेदन पारित गरी समापन गर्दै ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते तीन दिनसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

शुक्रवारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्दै समापन भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी हुने बताउनुभयो । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन ३ दिन चल्ने छ।