प्रदेश २ मा १८५ बालबालिकाको डुबेर मृत्यु

maitrinews

 

सप्तरी । असोज ५ मा यहाँ एकै दिन तीन जनाको डुबेर मृत्यु भयो । यसमध्ये दुई जना बालिका थिए भने एक युवती । खडक नगरपालिका वडा नम्बर ८ मुसहरनियाँमा तीन वर्षीया एलिजाकुमारी चौधरीको घर नजिकैको आफ्नै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो भने तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया बस्ने १२ वर्षीया सबना खातुनको डुबेर ज्यान गयो । यसै दिन महादेवा गाउँपालिका–४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदाको पनि पोखरीमा डुबेर मृत्यु भयो ।

भोलिपल्ट ६ असोजमा पनि महादेवा गाउँपालिकामै एक बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर २ अकबरपुर निवासी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो ।

२८ जेठ दिउँसो झन् ठूलो दुर्घटना भयो । धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर ६ स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीय मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता सहनीको मृत्यु भयो । उनीहरू बाख्रा चराउन जाँदा पोखरीमा नुहाउन पसेका थिए ।
प्रदेश(२ को आठ जिल्लाका स्थानीय पोखरी र खाल्डाखुल्डीमा डुबेर पछिल्लो दुई वर्षमा मात्रै २८२ जनाको ज्यान गएको छ । जसमा अधिकांश १८५ जना बालबालिका छन्, ती पनि १० वर्ष मुनिका ।

४ साउनमा सर्लाहीमा तीन जनाको डुबेरै मृत्यु भयो । बलवा नगरपालिका–९ घर भई हरिपुरवा नगरपालिका–७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी सात वर्षीया छोरी चाँदनी ठाकुरको नहरमा, गोडैता नगरपालिका–८ बस्ने २५ वर्षीय विकासकुमार दासको पोखरीमा र वागमती नगरपालिका–६ बस्ने ४२ वर्षीया अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर ज्यान गयो ।

पानीमा डुबेर अनाहकमा ज्यान गुमाउने केही दृष्टान्त मात्रै हुन् यी । प्रदेश–२ का जिल्लामा दिनहुँजसो यस्ता घटना भइरहेका छन् । धेरैजसो घटनामा बालबालिकाले ज्यान गुमाइरहेका छन् ।

पोखरी, नदी, तलाउ, नहर सहितका जलाशयमा डुबेर मृत्यु हुने क्रम पछिल्लो समयमा बढेको छ । यसबाहेक बाटोमा भएका खाल्डामा समेत डुबेर बालबालिकाले जीवन गुमाइरहेका छन् । प्रदेशका ग्रामीण क्षेत्रमा यस्ता घटना बढी भइरहेका छन् ।