शक्तिबाट प्रभावित नहुने प्रहरी

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ। प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गर्नुभयो ।

‘निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहिनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु’, राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भन्नुभयो।

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिनुभयो।
समरोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभयो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यसमध्ये सात जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमार्फत सम्मान गरिएको थियो ।