अणु निर्माणमा योगदान पुर्‍याउने वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल

maitrinews

 

स्टकहोम । अणु निर्माण कार्य विकसित गर्ने वैज्ञानिकद्वयलाई सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले वैज्ञानिकद्वय बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने निर्णय गरेको हो । उनीहरूको कार्यले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको कमिटीले जनाएको छ ।

जर्मन नागरिक लिस्ट र अमेरिकी नागरिक क्याकमिलनको खोजले रासायनिक अणुहरूलाई कसरी सँगसँगै राख्ने भन्ने नयाँ अवधारणा विकसित भएको छ । यो नयाँ औजार यसअघि नै औषधिको विकासलगायतका नयाँ आविष्कारका लागि प्रयोगमा आइसकेको छ । यसले मानवजगत्लाई ठूलो फाइदा पुर्‍याइरहेको छ ।
वैज्ञानिकद्वयले छुट्टाछुट्टै रूपमा अध्ययन, अनुसन्धान गरेका भए पनि कमिटीले पुरस्कार भने संयुक्त रूपमा दिने निर्णय लिएको हो । ५३ वर्षीय म्याकमिलन अमेरिकाको न्युजर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक हुन् । त्यस्तै जर्मनीको फ्यांकफर्टका ५३ वर्षीय लिस्ट कोलोग्न विश्वविद्यालयका प्राध्यापक हुन् ।