प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

 

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।

सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ ।