बुद्ध मूर्ति अनावरण गरिँदै

 

भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारी आज भैरहवा जाँदै हुनुहुन्छ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको जेड धातुको बुद्ध मूर्ति अनावरण गर्न उहाँ आज भैरहवा जान लाग्नुभएको हो ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्ध मूर्ति आज अनावरण हुने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित बुद्ध मूर्ति राष्ट्रपति भण्डारीले आज अनावरण गर्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारीले आज दिउँसो साढे १२ बजे मूर्ति अनावरण गर्नुहुने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो।

बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम समेत तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो ।

बुद्ध मूर्तिलाई शनिवार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो ।

लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतम बुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्ध मूर्ति ल्याइएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताउनुभयो । उहाँका अनुसार म्यानमारका भिक्षु कालिगडले ६ महिना लगाएर सो मूर्ति बनाएका हुन् ।

वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । एक दशमलव नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ छ । मूर्तिलाई आज स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।