रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

maitrinews

 

रौतहट — रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

राति करिब सवा १० बजेको समयमा यू।के।१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।