काँग्रेसको प्रादेशिक अधिवेशन सुरु

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ । शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ ।

शनिबार निर्वाचन हुनेछ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

कांग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ ।

यसअघि देउवा हेटौंडा जाने कार्यक्रम रहेको थियो । समय अभावका कारण देउवाले भर्चुअल माध्यमबाटै उद्घाटन गर्ने कार्यक्रम रहेको हो ।

कांग्रेसले यसअघि नै हरेक प्रदेश अधिवेशन गर्ने जिम्मेवारी तोकेको थियो । सोही अनुसार नेताहरुले आज आ–आफ्नो क्षेत्रमा उद्घाटन गरी अधिवेशनको कार्यक्रम अगाडि बढाउने छन् ।

प्रदेशको कार्यसमितिका लागि कांग्रेसको संस्थापन तथा इतर पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गर्दैछन् । उनीहरुले प्यानल नै तयार पारिरहेका छन् ।