पहिलो सिजनमा तीन झारल र नौ नाउरको शिकार

 

बागलुङ। शिकार पर्यटनको पहिलो याममा ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको छ । नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा नेपालका पाँच शिकार कम्पनीमार्फत् शिकार गरिएको हो । शिकारमा पुगेका विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा कम शिकार गरेका छन् । पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो ।

यस पटक तीन वटा झारल र एक नाउरको शिकार हुन सकेनन् । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो शिकारको लागि आउनुभएन । उहाँले हिमालयन वाइल्ड आउटफिटरमार्फत शिकार अनुमति लिनुभएको थियो । व्यक्तिगत कारण देखाउँदै शिकारको लागि नआएको सञ्चालक शेरबहादुर वाईवाले जानकारी दिनुभयो । उहाँले सुन दहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति लिनुभएको थियो ।

यो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे पनि फागुने ब्लकमा एक झारलको शिकार गर्न चुक्नुभएको थियो । हिमालयन सफारीमार्फत् मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लवकमा एक नाउरको शिकार गर्नुभयो । मेक्सिनक नागरिक कार्लोसले सेन ब्लवनमा एक नाउर मारे पनि झारल मार्न सक्नुभएन ।

ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गर्नुभयो ।
ग्लोबल सफारीमार्फत् दोगाडी ब्लवमा पुग्नुभएको स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको शिकार गरेको ढोरपाटन शिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको शिकार गर्नुभएको थियो ।

चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमसेर पराजुलीले बताउनुभयो ।
ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ ।