पौडेल समूहले साझा उम्मेदवार बनाउन सकेन

maitrinews

 

काठमाडौं । महाधिवेशनमा कांग्रेसको संस्थापन इतर समुहबाट साझा सभापति खोज्ने प्रयास फेरी पनि विफल भएको छ।

कांग्रेसको संस्थापन इतर समूह सभापतिका लागि साझा उम्मेदवार खोज्न भन्दै छलफलमा जुटेको थियो। तर मंगलबार जस्तै बुधबारको प्रयास पनि असफल भएको हो।

सभापतिका आकांक्षी मध्येका एक नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको बैठकमा सिंह र अर्का सभापतिका आकांक्षी डा। शेखर कोइरालाले सहमती गर्ने छाँट नदेखाएपछि बैठक बिना निश्कर्ष सकिएको हो।

बैठकमा सहमतीको अवस्था नबनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै झोक्किएका थिए।

उनले सिंह र कोइराला दुवैलाई कि मिल्नुस् कि छाड्नुस् भन्दै पटक पटक पटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

‘दुवै नेतालाई रामचन्द्रजीले सहित हामी सबैले मिल्नका लागि पटक पटक आग्रह गर्यौ, तर उहाँहरु मिल्ने अवस्था आज नै बनेन, भोली फेरी हामी छलफलमा बस्छौं,’ नेता केसीले भने।

स्थिति सुध्रने भन्दा बिग्रने दिशामा गएपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, म सन्यास लिन्छु, तपाइहरु चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएका थिए।

मंगलबारसमेत सिंह निवास चाक्सीबारीमा पाँच घण्टा इतर समूहको बैठक बसेको थियो। यस्तै बुधबार विहानसमेत बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सहमतीको लामो प्रयास भएको थियो।

सभापतिको रेसबाट महामन्त्री डा शशांक कोइराला भने ब्याक भइसकेका छन्। उनले पौडेललाई समर्थन दिएका छन्।