ढल खन्दा भेटियो लिच्छविकालीन शिलालेख

maitrinews

 

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।
ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा ढल खन्दा भेटिएको शिलालेख निकाल्दै स्थानीय । करिब ६ फिट अग्लो शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा १५ पंक्तिको अभिलेख छ ।

शिरो भागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ । शिलालेखको लम्बाइ करिब ६ फिट लामो भए पनि अभिलेख कुँदिएको भागको नाप ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइ रहेको छ । ‘लिच्छविकालीन अभिलेख पूरै अध्ययन गर्न सकिएको छैन तर यसमा अंशुवर्मा र राजा वृषदेवको नाम प्रस्ट रूपमा उल्लेख छ,’ लिपिविद् राजवंशीले भन्नुभयो, ‘शिलालेखले पाटन क्षेत्र विहार थियो भन्ने प्रस्ट पार्छ ।’

राजवंशीका अनुसार शिलालेखमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्लपक्ष प्रस्ट पढ्न सकिने अवस्थामा छ । राजा वृषदेवले बनाएको विहार भन्नेसम्म अहिले पढ्न सकिने उनको भनाइ छ । ‘शिलालेखलाई अझै राम्रोसँग सफा गरी थप अध्ययन अनुसन्धान गर्न जरुरी छ,’ उनले भने । ३२ वर्षअघि गोकर्ण बालुवा गाउँमा पनि अंशुवर्माकालीन शिलालेख भेटिएको थियो ।

सोमबार भेटिएको शिलालेखलाई स्थानीय बासिन्दा, पुरातत्त्वविद्लगायतको सहभागितामा बुधबार साँझ मूलचोक पुर्‍याइएको छ । स्थानीय जनप्रनिधि, नगरपालिकालगायतको बैठकपछि शिलालेखलाई कहाँरकसरी सुरक्षित राख्ने भन्ने निर्णय गरिने पुरातत्त्व विभाग फोटोग्राफी एवं डकुमेन्टेसन शाखा प्रमुख नर्वदा श्रेष्ठले बताउनुभयो।