बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

 

हेटौंडा । बागमती प्रदेश सभाको आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ । प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठकको कार्यसूची पेस गर्न नपाउँदै एमालेले सभा अवरुद्ध गरेको हो ।

एमालेका सभासद केशवराज पाण्डेले हिजोको बैठकमा आफ्नो दलले राखेको विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राख्नुभएको थियो ।

प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

हिजोको बैठकमा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको सरकारले गरेका निर्णयहरु रोकेको, भागबण्डा मिलाउन मन्त्रालय थपेर जनताको करको रकम दुरुपयोग गर्न खोजेको लगायतका विषयमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।

प्रदेश सभाको आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षा सम्बन्धी विधेयकको विषयमा छलफल गर्ने कार्यसूची थियो ।