जेठमा स्थानीय निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

maitrinews

 

काठमाडौँ । सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए ।

त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ‘जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ,’ नेता श्रेष्ठले भन्नुभयो, ‘त्यसका लागि संविधान र ऐनमा आवश्यक संशोधन गर्ने र निर्वाचनको तयारी अघि बढाउने सहमति भएको छ ।’

यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।