एमसीसीबारे प्रचण्ड दोधारमा

maitrinews

 

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेको पत्र सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग आएको छ। र, यो तरंगले सबैभन्दा अप्ठेरोमा पारेको छ प्रचण्डलाई।
आफैंले लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्डले तथ्यहरूको तोडमोड गरी आफ्नो बचाउ गरेका छन्।
एमसिसीलाई पठाएको पत्रबारे प्रष्टीकरण जारी गर्दै प्रचण्डको सचिवालयले दुइटा कुरा उल्लेख गरेको छ।

पहिलो, एमसिसीलाई पठाएको पत्रमा गरेका प्रतिवद्धताबारे उल्लेख नै नगरी तत्कालीन समयमा प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको भनिएको छ। दोस्रो, परिमार्जनबिना एमसिसी पारित नहुने कुरामा पार्टी दृढ रहेको उल्लेख गरिएको छ।

सचिवालयमार्फत् प्रचण्डले दिएको यो प्रष्टीकरण तथ्यसँग भने मेल खाँदैन। एमसिसीलाई पठाएको पत्रमा देउवा र प्रचण्डले एमसिसीबारे राष्ट्रिय सहमति निर्माण गर्न समय चाहिने उल्लेख गरेका छैनन्। एमसिसी पारित गर्न केही कामहरू गर्नुपर्ने भएकाले आफूहरूलाई समय चाहिने उनीहरूको भनाइ छ। एमसिसी पास गर्न आफूहरूले के(के गर्नेछौं भनेर उनीहरूले ६ वटा प्रतिवद्धता जनाएका छन्।