बस दुर्घटनामा १४ जनाको मृत्यु

 

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताए । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने ।
उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।