अमेरिकाले युक्रेनलाई आत्मघाती ड्रोन दिने

maitrinews

 

अमेरिका । अमेरिकाले रूसी सेनाविरूद्ध लड्न युक्रेनलाई थप अत्याधुनिक हतियारहरू दिने भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकाको संसदलाई सम्बोधन गर्दै अझै धेरै सहयोग गर्न आग्रह गरेपछि राष्ट्रपति जो बाइडेनले ८ सय मिलियन डलर बराबरका थप सैन्य सामग्री युक्रेनलाई दिने निर्णय गरेका छन्।

अमेरिकाले दिन लागेका हातहतियारमा बोक्न र प्रयोग गर्न सजिला हुने हतियार रहेको स्रोतलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
युक्रेनी सैनिकहरूले अहिलेसम्म रूसी आक्रमणविरूद्ध उच्च स्तरको युद्धकौशल देखाएका छन्।

ट्याकंजस्ता ठूला(ठूला सामग्री दिँदा प्रयोग गर्न विशेष सीप र धेरै जनशक्ति चाहिने भएकाले अमेरिका र युरोपियन युनियनका मुलुकहरूले बोक्न सकिने र प्रयोग गर्न सजिला हतियार युक्रेनलाई दिइरहेका छन्।

अमेरिकाले अब युक्रेनलाई आत्मघाती ड्रोनहरू पनि दिने भएको छ। यी ड्रोनको नाम कामीकाजी हो। दोस्रो विश्वयुद्धका बेला जापानीहरूले अमेरिकालगायत शत्रु मुलुकहरूका युद्धपोतहरूमा स(साना जहाज पाइलटसँगै झोसेर आक्रमण गर्थे। त्यहीँबाट यी आत्मघाती ड्रोनको नाम पनि कामीकाजी राखिएको हो। बिस्फोटक पदार्थले भरिएका यस्ता ड्रोन पिठ्युँमा बोक्न मिल्ने हुन्छन्। निशानामा पुगेपछि त्यही बिस्फोटक पदार्थ पडकिन्छ। यसले ६ माइलसम्म मार हान्न सक्छ।

रूसी सैनिकका ट्यांक र साना बटालियनलाई लक्षित गरी यस्ता ड्रोन प्रयोग गर्न सकिने अमेरिकी अधिकारीहरूले बताएका छन्।