बौद्ध संघ संस्थाले गरे मेयरका उम्मेदवार सुनिता डंगोलको प्रशंसा

maitrinews

काठमाडौं । स्थानीय सरकारको निर्वाचन नजिकिंदै जाँदा उम्मेद्वारी दिनेहरुको पनि होडबाजी चलेको छ । विभिन्न पार्टीहरुले मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्य पदका लागि उम्मेद्वारका नामहरु धमाधम सिफारिस गर्दै छन् भने स्वतन्त्र रुपमा पनि केही व्यक्तिहरुले आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

यसै सन्दर्भमा काठमाडौ महानगरपालिकाको लागि मेयर पदमा दावी गर्दै उम्मेद्वारी दिने एक सांस्कृतिक अभियन्ताको अहिले चर्चा चुलिन थालेको छ । उमेरले ३० बर्ष पुगेकी सुनिता डंगोल एक सामाजिक सांस्कृतिक अभियन्ता एवं पूर्व मिस नेवा भएकैले पनि उनको मेयर पदको लागि दिएको उम्मेद्वारीले चर्चा पाएको हो । उनी काठमाडौंमै जन्मी हुर्केको र यहाँको समुदायहरुमा मसिनो ढगले भिजेकी हुनाले पनि उनको उम्मेद्वारीलाई धेरैले समर्थन जनाएको सोसियल मिडियाको सर्वेक्षणले जनाउँदछ ।

यो बाहेक पनि भर्खरै मात्र उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरि आठ खम्बे विकास मोडल र सो अन्तर्गत अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु पेश गरेका थिए । उनले सार्वजनिक गरेको मध्यकालिन योजनामा “बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति” बनाउने र सो समितिबाट नै काठमाडौंमा रहेका सम्पूर्ण बहाल बहीलहरुको मूर्त अमूर्त सम्पदाहरुलाई पूर्नजीवन दिने र सम्पदाहरुको पूर्ननिर्माण गरि पहिलेकै अवस्थामा ल्याउने भनी उल्लेख गरेबाट अहिले केही बौद्ध संघ संस्थाहरुले यसको जोडदार स्वागत गरेर प्रतिक्रियाहरु दिन थालेका छन् । युवा बौद्ध विहार संघका उपाध्यक्षका अनुसार सुनिता डंगोलले सार्वजनिक गरेका योजनाहरुबाट हामी बौद्धहरु ज्यादै प्रभावित भएका छौं । वास्तवमा हाम्रो समस्याको जडमा पुगेर उनले यसको समाधान सहितको योजना सार्वजनिक गरेकी छिन् यसर्थ हामी बौद्धहरु धेरै उत्साहित भएका छौ ।

अर्का बौद्ध संस्था नेपाल बौद्ध विकास ट्रस्टका अध्यक्षका अनुासर सुनिता डंगालेले बनाएको मूर्त अमूर्त सम्पदाको संरक्षण तथा “बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति” बनाउने भन्ने योजनाका सन्दर्भमा हामी चाडैनै एउटा अन्तरक्रिया कार्यक्रम गर्ने सोच बनाएका छौं । अव काठमााडौंका मेयरका प्रत्याशी सुनिता डंगालेको समय मिलाएर सो विषयमा एउटा बहस नै चलाउने छौं । हामी चाहन्छौं सुनिता डंगोलले जस्तै अरु मेयरका प्रत्याशीहरुले पनि यस्तै यस्तै योजनाहरु ल्याओस् ।

काठमाडौंमा मेयरका उम्मेद्वारहरु मध्ये सुनिता डंगोलले सवैभन्दा पहिला प्रतिवद्धता पत्र सार्वजनिक गरेकी थिईन । उक्त प्रतिवद्धता पत्रमा काठमाडौंलाई सांचिकै स्वच्छ, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन विभिन्न यथार्थपरक योजनाहरु समावेश गरेको जनमानसको भनाई रहेको  छ । उक्त योजनाहरु कार्यान्वयन गर्न सके काठमाडौं सांचिकै सुन्दर सम्मृद्ध सांस्कृतिक सहरको रुपमा विकास हुने देखिन्छ ।  उनले प्रतिवद्धता सार्वजनिक गरेपछि बल्ल अरु पार्टीहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्न थालेको छ । तर सुनिता डंगोलको प्रतिवद्धता पत्रमै उल्लेख भैसकेका योजनाहरुलाई अरुले पनि आफ्नो घोषणा पत्रमा उल्लेख गरेको देखिन्छ । सुनिता डंगोलको प्रतिवद्धतापत्र सवैको लागि एउटा उदाहरण भएको अहिले जनमानसमा व्याप्त चर्चा रहेको पाइन्छ ।