उपत्यकामा डेङ्गुको संक्रमण फैलिंदै

काठमाडौं : उपत्यकासँगै देशका विभिन्न स्थानमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् ।

यसपटक जनघनत्व बढी भएको काठमाडौंमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँनुहुन्छ । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उहाँको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे ।

तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौं जस्ता पहाडी सहरमा पनि देखा प¥यो । बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।

निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ ।

तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेङ्गु रोग लाग्दछ ।

सरुवा रोग विशेषज्ञ डा बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेङ्गुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।
गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेङ्गुका बिरामीको उपचार भइरहेको छ । उहाँले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँले डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेङ्गुका बिरामी देखिएको छन् । जेठयता काठमाडौंमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेङ्गुका बिरामी भेटिएका छन् ।