हरितालिका तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिच्न नपाइने

काठमाडौं : हरितालिका तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिच्न नपाइने भएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो ।

पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा तस्बिर खिचे/नखिचेको अनुगमनका लागि कोषका कर्मचारीलाई खटाइएका छन् ।