आजबाट इन्द्रजात्रा सुरू, यस्तो छ इन्द्रजात्राको सांस्कृतिक महत्व

काठमाडौँ । नेपालकै लोकप्रिय र विशेष महत्वको पर्व इन्द्रजात्रा आजबाट विधिवतरुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा बुधबार बिहान ७ः १७ बजेको साइतमा ‘यःसिं’ अर्थात इन्द्रध्वजोत्थानसँगै विधिवतरुपमा सुरु भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको कागेश्वरी मन्दिरसँगै रहेको खाल्डोमा ‘यःसिं’ ठड्याएपछि इन्द्रजात्रा आरम्भ भएको मानिन्छ । इन्द्रजात्रामा इन्द्रलाई प्रतीक बनाएर इन्द्रध्वजोत्थान गर्ने गरिन्छ ।

काठमाडौमा इन्द्रध्वजोत्थान कहिलेदेखि सुरु भयो भन्ने तथ्य फेला पर्न नसकेपनि वेद, पुराण जस्ता धार्मिक ग्रन्थहरुमा इन्द्रध्वजोत्थानबारे प्रसस्त उल्लेख गरिएको पाइन्छ ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः’ पुन्ही पनि भनिन्छ । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवतालाई सार्वजनिक प्रदर्शनमा राखेर पुजा गर्ने पनि प्रचलन रहेको छ ।

इन्द्रजात्रामा उठाइने इन्द्रध्वज (यःसिं) केन्द्रीय मानन्धर संघको संयोजनमा भक्तपुरस्थित नालाको यःसिंगुँमा काटिन्छ । त्यहि रुखलाई नालादेखि तानेर हनुमानढोकासम्म ल्याउनुपर्ने प्रचलन रहँदै आएको छ । यसलाई गाडीमा राखेर ल्याइँदैन । उक्त रुखलाई भोटाहिटीमा इन्द्रजात्राको यःसिं राख्ने ठाउँमा एउटा प्रस्तरको मण्डप बनाएर चार दिन राखिन्छ ।

भोटाहिटी ल्याइपु¥याएको चौथो दिनमा काया अष्टमिका दिन भोटाहिटीबाट तानेर यःसिंलाई हनुमानढोका पु¥याइन्छ ।

नालाको यःसिंगुँमा रुख काट्नु अघि विशेष पूजाआजा गर्नुको साथै गुर्जुको पल्टनले तोप पड्काई सलामी चढाइन्छ । साथै काटिने रुखलाई कालो बोकाको बलि दिइन्छ । उक्त बोकाको मासु फर्काउन नहुने मान्यता रहेकाले त्यसलाई त्यहीं पकाएर खाने गरिन्छ ।

यस्तो पूजा गर्ने कार्य पहिलापहिला दरवारबाट गर्ने चलन थियो भने अहिले नेपाली सेनाको शार्दूलजंग गुल्मले गर्दैं आएको छ ।

आज परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर ‘यःसिं’ ठड्याइएको छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । इन्द्रजात्रा आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ ।

इन्द्रजात्राको आज पहिलो दिन

भाद्र शुक्ल द्वादशीका दिनदेखि इन्द्रजात्रा आरम्भ हुन्छ । द्वादशीका दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको कागेश्वरी मन्दिर संगै रहेको खाल्डोमा ‘यःसिं’ ठड्याएपछि इन्द्रजात्रा आरम्भ भएको मानिन्छ । ‘यःसिं’ उठाउँदा हनुमानढोकामै दीप्याखं (देवीनाच) प्रदर्शन गरिन्छ । सोही दिन हनुमान ढोकामा रहेको हाथुःद्यः (स्वेत भैरव) सर्वसाधारणमा लागि खुला गरिन्छ । भने इन्द्रचोकमा आकाश भैरव र वटु टोलमा बाकादे आजुको मुर्ति पनि प्रदर्शनमा राखिन्छ । साथै टोल टोलमा भैरवका काठको मुर्ति पनि प्रदर्शन गरिन्छ । त्यही दिन लाखे, पुलुकिसि,सवः द्यः (हलचोक आकास भैरव), महाकाली नाचहरु पनि प्रदर्शनका लागि बाहिर निकालिन्छ । सोही दिन साँझ उपाकु परिक्रमा गर्ने कार्य हुन्छ । साथै काठमाडौंका विभिन्न स्थानमा उज्यालो हुनेगरी ग्वारामत बालिन्छ भने ह्यूमत टोलमा ह्यूमत बालिन्छ । बेलुकी बसन्तपुरको त्रैलोक्यमोहन मन्दिरमा दश अवतार प्रदर्शन गरिन्छ ।