अध्यक्ष ओलीद्वारा वेलायतका राजा चार्ल्सलाई बधाई

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य वेलायतका नयाँ राजा चार्ल्सलाई बधाई सन्देश पठाउनुभएको छ ।

सन्देशमा अध्यक्ष ओलीले राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र वेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभएको छ । सन्देशमा अध्यक्ष ओलीले महारानी एलिजावेथ द्वितीयाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले आज नेपालस्थित वेलायती राजदूतावासमा पुगी अध्यक्ष ओलीको सन्देश नेपालका लागि वेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गर्नुभयो ।
उपाध्यक्ष नेम्वाङले वेलायती राजदूतावासमा महारानी एलिजावेथ द्वितीयाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । उपाध्यक्ष नेम्वाङ नेतृत्वको टोलीमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराई, कृष्ण केसी, डा.अन्जान शाक्य र लक्की शेर्पा हुनुहुन्थ्यो ।