ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द’ उद्घाटन

ललितपुर : ऊर्जामन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो ।

सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिर्वतनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्वपूर्ण सहयोग बताउनु भएको छ ।

मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नमा जोड दिनुभयो ।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रियस्तरको प्रयोगशालाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।