अछाम पहिरोले पुरिएर १७ जनाकाे मृत्यु, ६ जना अझै बेपत्ता

अछाम : शुक्रबारदेखि अविरल परेकाे वर्षासँगै गएको पहिरोले पुरिएर अछाममा १७ जनाकाे मृत्यु
भएकाे छ भने ६ जना बेपत्ता भएका छन् ।

अछामको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

भेटिएका शव मध्य कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो ।

तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ ।

यस्तै पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको छ ।

अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दार भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।