प्रधानमन्त्री देउवालगायत विशिष्ट व्यक्तिहरूबाट स्वर्गीय जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली

ललितपुर, ३० असोज । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

ललितपुर महानगरपालिका परिसरमा राखिएको स्वर्गीय जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

१०३ वर्षीय वाङ्मय शताब्दी पुरुष जोशीको आज आइतबार ललितपुर ग्वार्कोस्थित किष्ट अस्पतालमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

वहाँको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको छ ।

स्वर्गीय जोशीको पार्थिक शरीरमा आजै पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व एवं सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

वहाँको पार्थिव शरीरलाई आइतवार साँझ ४ बजेसम्म ललितपुर महानगरपालिकाको कार्यालय परिसरमै राखिने छ भने त्यहीं आयोजना गरिने श्रद्धाञ्जली सभा पश्चात शवलाई किष्ट अस्पताललाई नै हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

शताब्दीपुरुष जोशीले मृत्यु पश्चात आफ्नो शरीरलाई चिकित्सकीय अध्ययनका लागि किष्ट अस्पताललाई दान गर्ने इच्छा व्यक्त गर्नुभएको कारणले शवलाई अस्पताल पठाउन लागिएको हो ।

त्यसअघि परिवारका तर्फबाट परम्परागत चलन अनुसार उहाँको अन्तिम संस्कार गरिने जानकारी पनि जोशीको पारिवारिक स्रोतले जनाएको छ ।