‘लाईभ डिबेट’ मा आउन देउवालाई ओलीको आग्रह, १७ सय बढीको कमेण्ट

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापा जानु अघि सामाजिक सञ्जालमा एउटा भनाई सार्वजनिक गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट–मा आउन आग्रह गर्नु भएको भन्दै लेख्नु भएको छ ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट–मा आउन आग्रह गर्नु भएको छ ,’ उहाँले लेख्नु भएको छ, ‘धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

उहाँले यति पोष्ट गरेको भनाइमा करीब १ घण्टामै १० हजारले लाइक गरेका छन् भने १७ सय बढीको कमेण्ट छ । ८ सय हाराहारीले सेयर गरेका छन् । ३ लाख ६१ हजार फलोअर्स रहेको पेजबाट सार्वजनिक गरेको सो भनाइमा धेरैका सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।