रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु

रुपन्देही, १४ कात्तिक । रुपन्देहीकाे सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ ।

छठघाटबाट घर फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार उनीहरूलाइ बिहान करिब साढे ४ बजे कारले ठक्कर दिएकाे थियाे । ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् ।

यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

घाइते भएका बन्दनाकाे अवस्था गम्भीर रहेको अर्यालले जनाएकाे छ । छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो ।

कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।