काठमाडौंको सांस्कृतिक सामग्री प्रदर्शनी

काठमाडौं, २२ कार्तिक । आज हलिमलि पुन्हिको अवसरमा काठमाडौंको जगत सुन्दर ब्वनेकुथि (विद्यालय) ले आफ्नै प्राङ्गणमा नेवाः सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी आयोजना गर्यो ।

प्रदर्शनीमा नेवाः समुदायले प्रयोग गर्ने गरगहना, माटाका भाँडाकुँडा, तामाका भाँडाकुँडा, पोसाक, विभिन्न चाडपर्वमा प्रयोग गरिने सामग्रीहरू, भोजमा खाइने परिकार आदि जस्ता सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी अवलोकन गर्न विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । प्रदर्शनी आयोजक जगत सुन्दर ब्वनेकुथि (विद्यालय) का प्रिन्सिपल सुनिता मानन्धरले बताउनु भए अनुसार आजको प्रदर्शनी ३० वटा विद्यालयका करिब दुई हजार विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

आफ्नो विद्यालयका विद्यार्थीहरूलाई प्रदर्शनी अवलोकन गर्न लिएर आउनुभएका शिक्षिका अनिता महर्जनले यो प्रदर्शनीबाट विद्यार्थीहरूलाई काठमाडौंको स्थानीय जनजीवन बुझ्न अझ मदत पुग्ने बताउनुभयो ।

जगत सुन्दर ब्वनेकुथि (विद्यालय) ले यस्तो प्रदर्शन पहिलो पटक आयोजना गरेको हो । सहभागीहरूको उपस्थितिले आफूहरू अत्यन्त उत्साहित भएकाले अब हरेक वर्ष यस्तो प्रदर्शनीलाई परिमार्जित गरी आयोजना गर्दै जाने प्रिन्सिपल मानन्धरले बताउनुभयो ।

प्रदर्शनीका केही झलकः