डोटीमा भूकम्प

सेनाद्वारा उद्धार, एमालेबाट एक लाख सहयोग

डोटी, २३ कार्तिक । डोटीमा हिजो राति आएको भूकम्पबाट पीडितको राहत र उद्धारका लागि नेकपा (एमाले) डोटीले जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेर आएका एमाले जिल्ला अध्यक्ष चक्र मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको बताउनुभयो । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए ।

एमाले जिल्ला अध्यक्ष मल्ल डोटी प्रदेशसभा सदस्यका लागि क्षेत्र ‘क’ बाट उम्मेदवार पनि हुनुहुन्छ । विपदको बेला मानवीय सहयोग गर्नुपर्ने सबैको दायित्व भएको बताउनुहुँदै उहाँले पार्टीले गर्ने यो सहयोग बारे जिल्लाका सीडीओलाई पनि आधिकारी रुपमा जानकारी गराइसक्नुभएको छ ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पु¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।