बाँके ३ मा आइपी र चन्तरामको माहोलले रत्न र भीमलाई सहज बन्दै

नेपालगञ्ज, २५ कार्तिक । बाँके ३ (१) क्षेत्रको प्रदेशसभातर्फ सत्तागठबन्धनका उम्मेदवार आइपी खरेल र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चन्तराम थारुका पक्षमा जनसमर्थन बढ्दै गएपछि सो क्षेत्रमा एमालेलाई थप लाभ हुने देखिएको छ ।

यो क्षेत्रको निर्वाचनमा प्रदेश उम्मेदवारको लफडाले अर्थ राख्ने विश्लेषण गरिएको छ । ०७४ को निर्वाचनमा हेर्दा प्रदेश (१) र (२) मा नेकपाका उम्मेदवार विजयी भएका थिए। यसपाली सत्ता गठबन्धनबाट (१) मा माओवादी र (२) मा कांग्रेसका उम्मेदवार छन् । प्रदेश (१) मा सत्ता गठबन्धनबाट माओवादीका आइपी खरेल र (२) बाट कांग्रेसका बादशाह कुर्मी उम्मेदवार हुनुहुन्छ । एमालेबाट (१)मा अनेरास्ववियुका पूर्व नेता समेत रहनु भएका रत्न खत्री र (२) बाट भीम वली उम्मेदवार हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका नेता दलबहादुर सुनार दुई दिनअघि मात्रै माओवादीमा गएपछि समीकरण बिग्रिएको छ। २०७० सालमा एमालेबाट यही क्षेत्रको सांसद बन्नुभएका सुनार समाजवादीमा विद्रोह गर्दै माओवादीमा प्रवेश गरेपछि अब माओवादीको उम्मेदवार खरेल कि सुनार भन्ने विवाद देखिएको छ। तर, आधिकारित उम्मेदवार खरेल नै भए पछि उहाँको पक्षमा माओवादीको मत जाने प्रष्ट छ ।

प्रष्ट देखिनेगरी नै माओवादी दुई भागमा बाँडिएको छ। एउटाले खरेल र अर्को पक्षले सुनारलाई बोकेको छ। आफ्ना उम्मेदवार नै माओवादीमा गएपछि समाजवादी पनि दुईतिर बाँडिएको छ। केहीले सुनारलाई नै मत हाल्ने मनस्थिति बनाएका छन् भने केहीले उहाँलाई हराउन लाग्ने प्रतिक्रिया दिएका छन्। तर हसिया हथौड़ा चुनाव चिन्हका कारण खरेलका पक्षमा मत जाने निश्चित छ ।

प्रदेशमा कांग्रेसबाट गएको निर्वाचनमा प्रदेश उम्मेदवार बन्नुभएका चन्तराम थारु नागरिक उन्मुक्ति पार्टीमा जानुले पनि केही असर पर्ने देखिन्छ। गएको चुनावमा उहाँ एक हजार ६ सय ९४ मतले पराजित हुनुभएको थियो ।

चन्तराम रेशम चौधरीको पार्टीमा जाँदा सत्ता गठबन्धनलाई ठूलो घाटा लाग्ने देखिन्छ। गएको चुनावमा संघमा प्रतिस्पर्धा गर्नुभएका बादशाह कुर्मी यसपाली प्रदेशमा झर्नुभएको छ । उहाँको मतलाई जसपाका विजय पाठकले काट्ने देखिन्छ। छिमेकी कुर्मी र पाठकको लडाइँले प्रदेशको निर्वाचनको नतिजामा केही हेरफेर गर्न सक्छ।

गएको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको मतले सत्ता गठबन्धन बलियो देखिए पनि उम्मेदवार मन नपरेर पार्टी छोडेका, अर्को पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका, उम्मेदवारीको चरण सकिएपछि पार्टी परिवर्तन गरेकाजस्ता कारणले गठबन्धनलाई समस्या पार्न सक्ने अनुमान गरिएको छ ।