काभ्रेपलाञ्चोकका २६ मतदान केन्द्र ‘अति संवेदनशील’

काभ्रेपलाञ्चोक, २९ कात्तिक । काभ्रेपलाञ्चोकका २६ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेकाे जनाएकाे छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

प्रजिअ पाण्डेका अनुसार संवेदनशील ठानिएका केन्द्रमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थापनसँगै गृहमन्त्रालयको निर्देशानुसार छुट्टै सुरक्षा रणनीति अपनाइन्छ । काभ्रेपलाञ्चोकको तीन लाख १० हजार ६३ मतदाता छन् ।

निर्वाचन प्रयोजनका लागि जिल्लामा एक हजार चार नेपाल प्रहरी र एक हजार आठ सय ८७ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रराज जोशीका अनुसार निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा आवश्यक थप चार सय २८ प्रहरी व्यवस्थापन भइरहेको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा एकतीस दल क्रियाशील रहेका छन् ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाता छन् ।