पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने

काभ्रेपलाञ्चोक, १ मंसिर । पनौतीकाे कुशादेवीमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताउनुभयो ।
“मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ ।
सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो ।
कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो ।
उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । हुमागाईका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ ।
प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो । प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार तीस सय मिटरमा छ ।