समृद्ध नेपालको सपना बाँड्दै ओली, गठबन्धनलाई भने प्रधानमन्त्री र मन्त्री बाँड्ने हतारो

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका लागि अब तीनदिनमात्र बाँकी छ। मंसिर २ गतेबाट मौन अवधी सुरु हुँदैछ। जसअन्तर्गत दल र उम्मेदवारहरुले आआफ्नो चुनावी प्रचारप्रसारलाई विश्राम दिनेछन्। मंसिर ४ गते ‘ब्यालेट’मा मत खसेसँगै देश नयाँ संसद र नयाँ सरकार बन्ने बाटोतिर अघि बढ्नेछ।

सरकार र संसद कस्तो बन्छ? कसको नेतृत्व रहन्छ? त्यो आउने केहीदिनमा थाहा भइहाल्छ। तर, गठबन्धन गरेर चुनावमा होमिएको सत्तारुढ दलहरु भने अहिलेदेखि नै सार्वजनिक रुपमा भागबन्डा गर्दै हिँडेका छन्। मतदाताहरुले विकास र पूर्वाधारबारे आवाज उठाइरहेका बेला गठबन्धन दलहरु भने को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने भन्ने बहसमा नै केन्द्रित छन्। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने विवाद अहिलेदेखि नै देखिएको छ। गठबन्धनका अन्य दल पनि कार्यकारी पदको दाबीमा छन्। जनता भने उनीहरुसँग पुराना वाचाको फेहरिस्त लिएर प्रतिप्रश्न गरिरहेका छन्।

चुनावी चटारोबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने जहाँ गए त्यहाँ उनले मन्त्री बनाउन आश्वासन दिए। काठमाडौं २ मा कमजोर मानिएकी माओवादी उम्मेदवार ओन्सारी घर्ती मगरलाई ‘विकासे मन्त्री’ बनाउने घोषणा गरेका प्रचण्डले जुम्ला पुगेर गोमा गौतमलाई पनि मन्त्री बनाउने वाचा गरे। यति मात्र होइन, प्रचण्डले मतदाता आकर्षित गर्न आफू उम्मेदवार रहेको गोरखा २ को प्रदेशसभा तर्फको ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्री नै भन्न भ्याए। उनै प्रचण्डले कांग्रेसका नेता रामचन्द्र पौडेल देशको प्रधानमन्त्री बन्न सक्ने समेत भाषण गरे।

मतदातालाई उनीहरुको क्षेत्रको उम्मेदवारलाई ‘मन्त्री’ बनाउने भनेर ‘ललिपप’ देखाउँदै हिँडेका छन् प्रचण्डले अहिले। प्रचण्डले मन्त्री पद यसरी बाँड्दै हिँड्नु वास्तवमा जनमतकै अपनाम हो। मतदातले संसदमा युवा जोश खोजिरहेको बेला गोरखामा एमालेको युवा उम्मेदवारसँग भिडिरहेका प्रचण्ड पुरानै ‘मन्त्री पद’ बाँड्ने शैली अपनाइरहेका छन्। उनको यो हर्कतको जवाफ मंसिर ४ मा मतदाताले ‘ब्यालेट’बाट अवश्य दिनेछन् नै।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने मन्त्री बाँड्ने गठबन्धनलाई ‘काउन्टर’ दिँदै मतदाताहरुलाई विकासको सपना बाँडिरहेका छन्। जनमतलाई आफ्नो पक्षमा पार्न यसपटक घोषणापत्र सार्वजनिक कार्यक्रमदेखि गीत र विज्ञापन निर्माणमा एमालेले देखाएको जागरुक्ता अरु कुनै पनि राजनीतिक दलले देखाउन सकेको छैन। कांग्रेस, माओवादीको घोषणापत्र त खोज्न पनि हम्मेहम्मे छ। तर, मतदातालाई घोषणापत्रबाट मात्र नभइ गीतमार्फत पनि सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउन सपना बाँड्दैछन् ओली।

अरु दलका शीर्ष नेताहरु भाण्बन्डा गर्दै र ठूलाठूला योजना सुनाउँदै हिँडेका बेला एमाले अध्यक्ष ओली भने युवाहरुसँग नजिक भइरहेका छन्। र्‍याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी पुगेर होस् या पडकास्टमा अन्तर्वार्ता दिन पुगेर। मतदातासँग सिधा टेलिफोन वार्ता गरेर होस् या सामाजिक संजालमा सक्रिय भएर। युवा जोशलाई ओलीले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। स्थानीय तह निर्वाचनमा सुनिता डंगोल जस्तो युवा अनुहारलाई मौका दिएका ओलीले यसपटक काठमाडौं क्षेत्र नम्बर १ मा किरण पौडेल र गोरखा क्षेत्र नम्बर २ मा अब्दुस मियाँलाई मौका दिएका छन्। हार जित आफ्नो ठाउँमा होला तर युवालाई प्राथमिकता दिने दलमा एमाले नै अघि देखिन्छ।

पछिल्लो समय ओलीले सपनामात्रै बाँडे भनेर आलोचना गर्नेहरु धेरै छन्। तर, तिनै सपना देखाएर नै मतदातालाई आकर्षित सबै राजनीतिक दलले गरिरहेका छन्। ओलीले सपना देखाएको भए अहिले जनकपुरमा रेल गुडिरहेको हुँदैन थियो,  नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेको हुँदैन थियो। रानीपोखरी र कमलपोखरी जलमग्न हुँदैन थियो, आधुनिक शैलीमा धरहरा र मौलिक शैलीमा काष्ठमण्डप ठडिदैन थियो। यदि, ओली नेतृत्वमा रहेको पार्टीका जनप्रतिनिधिले त्यो सपना पूरा गर्न अहोरात्र नखटेको भए।

आसन्न निर्वाचनमा पनि मतदातालाई आकर्षित गर्न पुराना, नयाँ र स्वतन्त्र भनिएका सबैले पनि सपना बाँडिरहेका छन्। काम, कर्तव्य एक ठाउँमा, सपना भने ठूलठूला देखाइरहेका छन् उनीहरु। यस्तोमा ओलीले पूरा गर्न सकिने सपना देखाउनु कसरी गलत हुन्छ? उदाहरणका लागि घर घरमा ग्यासको पाइपलाइन पुर्‍याउने विषय असम्भव पक्कै छैन। तर, यति छिटो नै त्यो सम्भव भएको देख्न खोज्नु हाम्रो कमजोरी हो। त्यसैले अहिले ओलीले ‘चुलो चुलोमा विद्युत’ अवधारणा अघि सारेका छन्। जुन सकारात्मक पाटो हो।

निर्वाचनमा पुरातन शैली अपनाएर अहिले मतदातालाई आकर्षित गर्न सकिँदैन। सपना नबाँडि पनि मतदाता आकर्षित हुने छैनन्। त्यसैले पनि एमालेले यसपटक ‘हाइ टेक’ प्रचार शैली अपनाएको छ। र, आफ्नो ब्रान्ड एमबेस्डर बनाएको छ तिनै ओलीलाई। र, पछिल्लो समय त्यो प्रचार शैली जनजनमा बस्न सफल पनि भएको छ। ‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ बोलको गीत अहिले विपक्षीको मुखबाट पनि गञ्जिँदैछ। अरु दलले यही पनि गर्न सकेको छैन। गठबन्धन दलका नेतालाई नै आफ्नो क्षेत्रमा को उम्मेदवार भन्ने थाहा छैन।

ओली भने आफ्नो लाइनमा क्लियर छन् “सुखी नेपाली, समृद्ध नेपाल”  र, एमालेलाई जिताउन आफ्नै ‘स्टाइल’मा लागिरहेका छन्। 

र, उनीसँगै अहिले एमालेले मात्र होइन सबै भनिरहेका छन् : सतरी कटेनी भरिलो दिमाग छ, हुँदारको घेरामा जिउँदो बाघ छ

शब्दको वर्षा, उनकै त चर्चा

को हो को हो, भन्दे त भाइ

बा …. केपी बा । को हो को हो, भन्दे त भाइ

बा …. केपी बा।

 

लेखक : एस आर छिप्पा