मुलुकको अर्थतन्त्रबारे मैले गठबन्धनलाई बुझाउन सकिनः गगन थापा

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका बारेमा आफुले निर्वाचन अघि आफ्नो दल र सत्ता गठबन्धनका नेतासँग छलफल गर्दा कसैले चासो नदिएको आरोप लगाउनु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)ले आज राजधानीमा आयोजना गरेको छलफलमा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

‘अर्थतन्त्रमा देखिएको समस्या समाधानबारे ४८ घण्टा बहस गरौँ भनेर गठबन्धनमा मैले पटक–पटक कुरा राखेँ तर उहाँहरुले मेरो प्रस्तावलाई बेवास्ता गर्नुभयो, ‘मैले निर्वाचनको सिट बाँटफाट गर्नु अघि पनि हामी निर्वाचन जितेर आएपछि अर्थतन्त्रका बारेमा के–के गर्छौ भन्ने विषयमा बहस गरौँ र योजना बनाएर अघि बढौँ भने तर उहाँहरुलाई सम्झाउन सकिन ।’

त्यसैगरी थापाले आगामी नेतृत्वले अर्थतन्त्रका बारेमा गम्भीर भएर योजना बनाएर अघि बबढ्ने हो भने मुलुक अभूतपूर्व संकटमा फस्ने चेतावनी समेत दिनुभयो । प्रधानमन्त्रीको कुर्सीमा बन्नेले यो विषयमा गम्भीर हुन जरुरी रहेको पनि उहाँले बताउनुभयो । ‘अब बन्ने सरकारले निजी क्षेत्रसँगको सम्बन्ध बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सरकार र नीजि क्षेत्र सँगै बसेर छलफल आवश्यक छ। अब बन्ने सरकारले निजि क्षेत्र, अर्थमन्त्री, गभर्नर बसेर अबको बाटो के हुने भन्ने छलफल आवश्यक छ ।’

कार्यक्रममा थापाले समाजवादले सबैलाई झुक्याएको भन्दै संविधानमा भएपनि यसलाई यहि छोडेर अघि बढन आवश्यक रहेको धारणा राख्नुभयो। अबको दिनमा सरकारको भूमिका शिक्षा, स्वास्थ्यमा बढ्नु पर्ने उहाँको भनाई छ । उहाँले अब नीजि क्षेत्रसँग खुला छलफल गर्न सरकार तयार रहनु पर्ने सुझाव दिनुभयो । यसअघि उद्योग बेचियो भन्नेकुरा चर्चा हुने गरेको भन्दै अब यस्ता बिषयमा छलफल गर्नुभन्दा नयाँ उद्योग खोल्नेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले आगामी दिनमा वितरणमुखी नीति भन्दा पनि कति रोजगारी दिन सकिन्छ भन्नेमा सोच्ने बेला भएको बताउनु भयो । उहाँले वितरणमा ध्यान दिने हो भने कुनै दिनमा ५० बर्षमा नै वृद्ध भत्ता दिने दिन आउने हो किभन्ने चिन्ता बढेको बताउनुभयो ।